न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आज समापन हुँदै

काठमाडौं, १६ चैत । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा न्यायिक समितिको पहिलो सम्मेलन काठमाडौं काठमाडौं घोषणापत्र जारी गर्दै आज समापन हुने भएको छ ।

७५३ वटै पालिकाकाका न्यायिक समितिका संयोजक, उपप्रमुख–उपाध्यक्ष सहभागी सम्मेलनको पहिलो दिन हिजो निकै भब्य रुपमा सम्पन्न भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सो सम्मेलनको पहिलो दिन तीनवटा कार्यपत्र प्रस्तुत भएका थिए ।

पहिलो दिनको पहिलो सत्रमा अधिवक्ता इन्दु तुलाधरले न्यायिक समितिको अवधारणा, अधिकार क्षेत्र र यसको प्रचलन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उद्घाटनपछि सुरु भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तुलाधरले न्यायिक समितिलाई कानुनले दिएको अधिकार, न्याय निरूपणका सिद्धान्तबारे जानकारी दिनुभयो । दोस्रो कार्यपत्र न्यायिक समितिले विवाद निरुपणमा अपनाउनुपर्ने कार्यविधिबारेको कार्यपत्र थियो । तेस्रो कार्यपत्र वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्लेले प्रस्तुत गर्नुभयो । सो कार्यपत्र विवादको समाधानमा मेलमिलाप प्रक्रियाकाको वषयमा थियो ।

दोस्रो दिनको सत्रमा न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रक्रिया तथा कार्यविधि विषयमा अधिवक्ता डा सरिता खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । अन्तिम सत्रमा न्यायिक समितिबाट भएका मिलापत्र वा निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक संस्थागत प्रबन्ध तथा कार्यहरूको विषयमा काठमाडौं महानगरपालिकाका कानुन तथा मानव अधिकार विभाग प्रमुख बसन्त आचार्यले प्रस्तुत गरेपछि त्यसमा छलफल गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

निकै उत्साहपूर्ण उपस्थितिमा सुरु भएको यो सम्मेलनले न्यायिक समितिले अहिलेसम्म गरिरहेको काम र त्यसबाट प्राप्त भएको अनुभव हामी साटासाट गर्ने छ । ‘न्यायिक समितिसँग कति सफलताका कथा छन् भने कति चुनौति कथा छन्,’ डंगोलले भन्नुभयो, ‘कति धेरै ठूला समस्याका पहाड पनि हामीसँग छन् । समस्या, चुनौति, सफलताका कथाका अनुभवलाई हामीले सिकाई र भोगाइको आधार प्रदान गर्न एउटा ‘प्लेटर्फम’ चाहिन्छ भनेर काठमाडौं महानगरपालिकोले यो सम्मेलन गरेको हो । हामी यसमा केही हदसम्म सफल हुन्छौँ भन्ने ठानेका छौँ ।’