वन अतिक्रमण हटाएर ४०० टिमुरका बिरुवा रोपियो
काठमाडौँ, मंसिर १ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरखेती सुरु गरेको हो । अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुरका बिरुवा रोपिएको कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षणसँगै टिमुरखेतीमार्फत भविष्यमा स्थानीयस्तरमा आम्दानीको स्रोत सिर्जना गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यसबाट वन संरक्षण र स्थानीयको आयआर्जन दुवैमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
डिभिजन वन कार्यालयका अनुसार तनहुँमा ६२४ सामुदायिक वन रहेका छन् । ती वनले ६४ हजार ८४२ दशमलव ४८ हेक्टर क्षेत्रफल ओगटेका छन् ।
त्यस्तै, जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन, ३० दशमलव ६२ हेक्टरमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन् । जिल्लाको राष्ट्रिय वन क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ ।
वन क्षेत्रको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको प्रमुख रानाभाटले बताउनुभयो ।
