एनपीएल : फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज पहिलो क्वालिफायर खेल हुँदैछ । फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्ने भएकाले दुवै टोली पहिलो प्रयासमै उपाधि भिडन्तमा स्थान बनाउने दाउमा छन् ।

लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसरसमेत हो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको लिग चरणमा पनि उसलाई ७ विकेटले हराएको थियो ।

दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनभित्रै समेटेको थियो । आजको खेलमा पनि जित निकाल्न सके लुम्बिनीले सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा गर्नेछ ।

लिग चरणमा दुवै टोलीले समान पाँच जित निकालेका छन् । सुदूरपश्चिमले दुई खेलमा हार बेहोर्दा लुम्बिनीले एक खेलमा मात्र पराजय भोगेको थियो । एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले एक अंक बढी प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *