मुक्तिनाथ रथयात्रा सम्पन्न : आजदेखि एक महिने महायज्ञ सुरु

काठमाडौँ, मंसिर १ । मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु भएको रथयात्राले देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गरेको थियो । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः त्रिवेणीधाम फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

रथयात्राका क्रममा मेची र महाकालीको जल सङ्कलन गरिएको र उक्त जल गण्डकी नदीमा अर्पण गरिने उहाँले बताउनुभयो । रथयात्राको स्वागत तथा दर्शनका लागि विभिन्न स्थानमा स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको उहाँको भनाइ छ ।

रथयात्रा सम्पन्न भएपछि आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ । त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिने कार्यक्रम छ । बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने उहाँले बताउनुभयो ।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछन् ।

प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएकाहरूको आत्माको उद्धार र शान्तिको कामनासहित पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *