चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा

काठमाडाैं, १७ चैत्र । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आएकाे छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् ।

अभिनेत्री खड्काले भनिन् प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले देखाउन खाेजिएकाे छ । यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हाे ।

चलचित्रमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ । प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ ।

निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए । “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए । अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन् । यी सब क्षणिक हुन् । चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने ।

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।