गढीमाई मन्दिर परिसरबाट ओलीको उद्घोष– ‘बारा–२ बाट एमालेले जतिसकेको महसुस भयो’
बारा, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बारा क्षेत्र नम्बर–१ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पुरुषोतम पौडेलले जितिसकेको महसुस भएको बताउनु भएको छ । आज नेकपा (एमाले) वारा जिल्ला क्षेत्र नम्बर–२ को गढिमाईमा आयोजित क्षेत्रीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्वोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
‘मलाई पुरुषोतम पौडेलले जितिसकेको महसुस भएको छ,’ उहाँले भन्नुभयो, ‘खाली वैशाख १० गतेको मतदानको दिन मात्रै पर्खिनु पर्ने छ ।’ उहाँले आफू भित्रका सानातिना असन्तुष्टिलाई चर्काउने होइन मनमा अलिकति पनि राख्नु नहुने भन्दै सबैलाई एकतावद्ध भएर निर्वाचनमा सहभागी हुन र पौडेललाई विजयी बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।
‘हाम्रो पार्टी एकजुट भएर जनताको बिचमा जाँदैछ,’ उहाँले भन्नुभयो, ‘तपाईँहरु जनताका बिचमा संगठित भएर योजनाबद्ध ढंगले जानुहुनेछ भन्ने मैले ठानेको छु ।’ उहाँले अनेक खाले भ्रमपूर्ण, जनविरोधी र विषाक्त नाराहरु लाग्न सक्ने भन्दै त्यसमा चनाखो हुन पनि आग्रह गर्नुभयो । ‘जाति विरोधी, सांप्रदायिक कुराहरु हुनसक्छन्,’ उहाँले भन्नुभयो, ‘तपाईँहरु चनाखो भएर लाग्नुहोला ।’