नुवाकोटमा मनाइयो धुमधामका साथ सन्दुरे जात्रा

नुवाकोट, २६ चैत्र । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ ।

बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा गएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पुर्याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो ।

भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनीसहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलिमा सहभागी भएर आज बिहानसम्म पनि धार्मिक गतिविधि जारी छ ।

शनिबार साँझ द्वारे शाहीले धार्मिक विधिअनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्राको विशेष रौनक सकिए पनि भैरवी वर्ष बन्धन २०७९ को बाँकी प्रक्रिया र गतिविधि आगामी वैशाख ३ गतेसम्म जारी रहने बताए ।

सिन्दुरे जात्रा ‘सरकारी जात्रा’अन्तर्गत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति हुने गरेको छ । यो जात्रा ‘सरकारी जात्रा’ भए पनि नुवाकोटवासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दै उल्लासपूर्णरुपमा मनाउने गरेका छन् ।

जालपादेवी मन्दिरमा पुर्‍याएर फर्काइएको भैरवीको रथसहित धामी, धमिनी, कुमार, गणेशसहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पणसहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउँदै बाजागाजासहित विशेष सम्मान दिने चलन छ ।

प्रसिद्ध जालपादेवी, भैरवीदेवीसहित धामीप्रतिको आस्था एवं सद्भाव राख्दै जात्राको अवलोकन गर्न यो वर्ष हजारौँको सहभागिता रहेको थियो ।

चैत शुक्ल पूर्णिमाका दिनमा मनाइने भए पनि यस जात्रालाई ‘वैशाख शुल्क पूर्णिमाको जात्रा’, ‘धामी जात्रा’ देवीजात्रा लगायतको नामले पनि चिनिन्छ ।