हुम्लाको ताँजकोटमा निःशुल्क आँखा शिविर

काठमाडाैं, ३० चैत्र । हुम्लाको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेकाे गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिनुभयो ।

सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् । उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत निःशुल्क वितरण गरिएको छ ।

यसअघि आँखाका बिरामीले उपचारका लागि तीन–चार दिन हिँडेर सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता थियो । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार शिविरमा ११ चिकित्सकले बिरामीको जाँच गरेका थिए ।

नेपाल नेत्रज्योति सङ्घको आर्थिक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ताँजकोट गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।