सिंहदरबार र बाघदरबारको जुहारीः फोहोर व्यवस्थापनको जिम्मा मन्त्रालयको कि महानगरको ?

काठमाडौं, ३० चैत । आइतबारदेखि सिंहदरबार शीतल निवासको फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत सिंहदरबार र शीतल निवासको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर व्यवस्थापनमा समस्या भएको छ ।

मेयर साहले एकपछि अर्को गर्दै सामाजिक सञ्जालबाटै सिंहदरबारसँगको दूरी बढाउँदै आउनु भएको छ । उहाँले आज मात्रै पनि सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने भन्दै चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ– ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

उहाँले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने भन्दै कढा चेतावनी दिनुभएको छ । मेयर साहले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको कुरामा अनावश्यक बखेडा झिकेर फोहोर व्यवस्थापनमै समस्या सिर्जना गरेपछि एकातिर फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ भने अर्कोतर्फ सिंहदरबार र बाघदरवारबिचको दूरी पनि बढाएको छ ।

केही दिनदेखि फोहोर व्यवस्थापनमा कठोर बनेको महानगरपालिकाले समस्या समाधानको बाटो खोज्ने भन्दा पनि सरकारसँग पौठेजोरी खेल्नेमा आफूलाई केन्द्रित गरेको छ । मेयर साहका एकपछि अर्को अराजक टिप्पणीले पनि त्यहि कुराको संकेत गर्छ । सिंहदरबारको फोहोर व्यवस्थापनको विषयमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन्द्रराज जोशीसँग सम्पर्क गर्दा उहाँले सिंहदरबारको फोहोर व्यवस्थापनको जिम्मेवारी आफुहरुको नभएको जानकारी दिनुभयो । ‘सिंहदरबारको फोहोर महानगरपालिकाले उठाउने नै होइन,’ उहाँले भन्नुभयो, ‘सिंहदरबारको फोहोर सहरी विकास मन्त्रालय आफैँले टेण्डर गरेर परिवर्तन नेपाल भन्ने संस्थाले उठाउँदै आएको छ । सबै भन्दा पहिलो यो कुरा बुझ्नु पर्यो ।’

उहाँले काठमाडौं महानगरपालिकाको नीतिगत रुपमा कुनै संलग्नता नरहेको प्रष्ट पार्नुभयो । ‘परिवर्तन नेपालले टेण्डर पारेर म उठाउँछु भनेपछि काठमाडौं महानगरपालिकाको कुनै नीतिगत अधिकार नै छैन नि ?,’ मेयरले उठाउन दिन्न भन्नुभएको छ नि ? भन्ने प्रश्नमा उहाँले त्यो कुरा मेयर र परिवर्तन नेपालबिचको कुरा भएको भन्दै जवाफ दिनुभयो ।

काठमाडौं महानगरका प्रवक्ताको यस्तो भनाई आएको छ नि ? भन्दै शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारसँग कुराकानी गर्दा उहाँले एकले अर्कालाई दोषारोप गर्ने भन्दा पनि मिलेर व्यवस्थापन गर्नुपर्छ भन्ने मन्त्रालयको आधिकारिक धारणा रहेको बताउनुभयो ।

‘फोहोर व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारी फाहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार स्थानीय तहलाई जिम्मेवार बनाएको हो,’ उहाँले भन्नुभयो, ‘तर, फोहोरमैला व्यवस्थापनको पाटोबाट हेर्दा फोहोरमैलाका कारण वातावरण र कसैलाई पनि असर गर्नु भएन । एकले अर्कालाई दोषारोप गर्ने भन्दा पनि मिलेर व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो आधिकारिक धारणा छ ।’