वरिष्ठ नाट्यकार र एवं पत्रकार जीतबहादुर देउजा (विजय विस्फोट) सम्मानित
भक्तपुर, ९ वैशाख । वरिष्ठ नाट्यकार र एवं पत्रकार जीतबहादुर देउजा (विजय विस्फोट) सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पदकबाट हालै विभूषित विस्फोटलाई जिल्लाबासीकोतर्फबाट बधाई तथा सम्मान गरेको हो ।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय सल्लाहकार डा इन्दुल केसी र जिल्ला अध्यक्ष सुरेशप्रसाद सैंजूले संयुक्त रुपमा विभूषित विस्फोटलाई खादा ओढाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।
विभूषित विस्फोट भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुबासी हुन् । नाटक क्षेत्रमा चार दशक विताएका विस्फोटलाई नाटक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप विभूषित गरेको हो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व विस्फोटले राज्यको सर्वाेच्च निकायबाट पाएको यो सम्मान आफनो मात्रै नभई सम्पूर्ण जिल्लाबासीको रहेको बताए ।
आफूले सम्मान पाउनुमा जिल्लाबासीको पनि प्रत्यक्ष अप्रत्यक्ष हात रहेको चर्चा गर्दै यही कारण आफ्नो सम्मानमा सम्पूर्ण जिल्लाबासीको गर्वको विषय भएको उनले बताए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार डा इन्दुल केसीले स्वतन्त्र पत्रकारितामा जोड दिए । उनले व्यक्तिले जुनसुकै विचार राख्न पाउने तर त्यो पत्रकारितामा समाचार लेख्न पोख्न नपाउने बताए ।
संघका केन्द्रिय पार्षद् स्वतन्त्र पत्रकार कृष्ण किसीले पत्रकारिताको स्वच्छतामा जोड दिए । पत्रकारिता पेशा सम्मानित पेशा भएको भन्दै उनले पत्रकारिता स्वच्छ हुनुपर्ने बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरका सचिव प्रेम प्रजापति, सदस्य रामकृष्ण प्रजापतिलगायतले पत्रकारिताको महत्वबारे चर्चा गरे ।
कार्यक्रममा हालै निर्वाचित स्वतन्त्र पत्रकार संघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा आफ्नाे कार्यकालमा पदाधिकारी रहेर योगदान गर्नेहरुलाई कृतज्ञता प्रमाणपत्र प्रदान गरिएको थियो ।