हिमपातपछि बडीमालिकामा हराएका युवक मृत फेला

बाजुरा, १५ कात्तिक । भारी हिमपातपछि बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सम्पर्कविहीन भएका कञ्चनपुरका २० वर्षीय मनिष बोहरा मृत फेला परेका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका, दैजी निवासी बोहरा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आज हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरी खोजी गर्दा त्रिवेणी पाटननजिक उनको शव फेला परेको हो।

मृतकको खोजीमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत उद्धार गरी ल्याउने प्रयास भइरहेको रिजालले बताउनुभयो।

यसअघि हिमपातका कारण बडीमालिकामा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि उनी शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रोकिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *