जाडो सुरु भएसँगै पूर्वी तराईमा फस्टायो भक्काको व्यापार, महिलाका लागि स्वरोजगारको आधार
झापा, १५ कात्तिक । चिसो मौसम सुरु भएसँगै झापा, मोरङ र सुनसरीलगायत पूर्वी तराईका जिल्लामा परम्परागत रैथाने खाजा ‘भक्का’को व्यापार फस्टाउन थालेको छ। राजवंशी समुदायको मौलिक परिकार भक्का अहिले सबै समुदाय र उमेर समूहका उपभोक्ताको रोजाइ बन्न थालेको छ।
मेचीनगर नगरपालिका–१५ की जागनी राजवंशी विगत एक दशकदेखि धुलाबारी मोडमा भक्का बेच्दै आउनुभएको छ। उहाँ दैनिक १० किलो चामलको पीठोबाट बनेका भक्का बिक्री हुने बताउनुहुन्छ।
बिहानै चुल्हो, दाउरा र भक्का बनाउने सामग्री बोकेर बजार पुग्ने उहाँको दैनिकी हो। सालको पातमा तात्तातो भक्का र स्वादिलो अचार दिएर ग्राहकलाई आकर्षित गर्ने उहाँले यसबाट घरखर्च सहज रूपमा चलिरहेको बताउनुभयो।
मेचीनगर–१० की अम्ला राजवंशी पनि डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बेच्दै आउनुभएको छ। उहाँ दैनिक १५ किलोसम्म चामलको पीठोबाट भक्का बनाउने र बिक्री गर्ने गरेको बताउनुहुन्छ। बिहान पदयात्रामा निस्कनेदेखि विद्यार्थी र वृद्धवृद्धासम्म उहाँका नियमित ग्राहक छन्।
“बिहानको चार–पाँच घण्टा भक्का बेच्ने हो, त्यसपछि अरू काम गर्न समय मिल्छ,” उहाँले भन्नुभयो, “महिनामा ५० देखि ७५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ, आधाभन्दा बढी नाफा रहन्छ।”
स्थानीय व्यापारीका अनुसार कात्तिकदेखि फागुनको पहिलो सातासम्म भक्काको व्यापार बढी हुने गर्छ। झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का बेच्ने पसल धेरै छन्।
चामलको पीठोलाई बाफमा पकाएर बनाइने भक्का चिल्लो तथा अन्य मिसावटरहित परिकारका रूपमा लोकप्रिय छ। चिया र टमाटर, खुर्सानी तथा बिरे नुन मिसाइएको अचारसँग यसको स्वाद अझ बढ्ने उपभोक्ताको अनुभव छ।
भक्काको व्यापारले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आर्थिक आत्मनिर्भरताको बाटो दिएको छ। यद्यपि नयाँ पुस्ता भने यस व्यवसायमा त्यति आकर्षित हुन नसकेको स्थानीयको भनाइ छ।
मेची बहुमुखी क्याम्पसमा अध्ययनरत तेह्रथुमकी १९ वर्षीया रमिला लिम्बू झापामा भक्का लोकप्रिय खाजा बनेको बताउनुहुन्छ। उहाँका अनुसार क्याम्पस जानुअघि साथीहरूसँग चिया र अचारसँग भक्का खाने नियमित चलन छ।
पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित भक्काको परम्परागत स्वाद र महत्व प्रवर्द्धन गर्न झापामा हरेक वर्ष ‘भक्का दिवस’समेत मनाउने गरिएको छ।
