घाइते प्रहरीमाथि ओलीको सहानुभूतिः राज्यले उपचार गरेन भने एमालेले राम्रो उपचार गर्छ

इलाम, १४ वैशा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू आफू र सुरक्षाकर्मीमाथिको भौतिक आक्रमण प्रयासमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालका कार्यकर्ता संलग्न रहेको आरोप लगाउनु भएको छ ।

झापा, इलाम र तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा बुधबार गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीमाथि झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा पुग्ने क्रममा दुर्व्यवहारको प्रयास भएको थियो । उहाँमाथि आक्रमण प्रयास गर्दा रोक्ने क्रममा प्रहरी इन्सपेक्टर र हवल्दार घाइते भएका थिए । आज इलाम जिल्लाको जिल्ला परिषद्ले आयोजना गरेको सभालाई सम्वोधन गर्ने क्रममा ओलीले भन्नुभयो– ‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरूका कारण एक जना इन्सपेक्टरको टाउकोमा १७ टाँका लगाएको छ । के गल्ती गरेको थियो इन्सपेक्टरले ? आफ्नो ड्यूटीमा खटिरहेको थियो ।’

उहाँले उनीहरुको कसैसँग दुस्मनी नभएको भन्दै ड्यूटीमा खटिरहेका सुरक्षाकर्मीमाथिको आक्रमण गलत भएको बताउनुभयो । ‘मेची नाम राख्यो कि ? कोशी नाम राख्यो कि ? सगरमाथा नाम राख्यो कि ? कर्णाली राख्यो कि ? गण्डकी राख्यो कि ? उसलाई के मतलब छ ?,’ ओलीले भन्नुभयो, ‘उ त ड्यूटीमा छ । जागिर खाएर ड्यूटीमा भएको एउटा व्यक्तिको टाउको फुटाई दिने ? आतंककारीहरुले ? यस्तो हुन्छ राजनीति ?’

उहाँले अर्को एक जना हवल्दारको गालाको हड्डी फुटेको भन्दै अप्रेशन गर्नुपर्ने भएको बताउनुभयो । ‘यो राजनीति हो ? ती इनस्पेक्टर, हवल्दारले हो ? त्यो कोशी नाम राखेको ? त्यो घटनामा माधव नेपाल र प्रचण्डको पार्टीको संलग्नता देखियो,’ उहाँले भन्नुभयो,’ ‘सरकारको व्यवहार हेर्नु परेको छ । हामी सरकारको व्यवहार हेर्छौ ? हामी कसैसँग पनि निहुँ खोज्न र झगडा गर्न जाँदैनौँ । अलिकति बढी भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिक महङ्गो पर्न सक्छ है ।’

उहाँले प्रहरीहरु अहिले उपचारका क्रममा रहेको बताउनुभयो । ‘प्रहरी भाईहरु घाइते भएर अस्पतालमा उपचार गराइरहनु भएको छ । म उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । म भन्न चाहन्छु । सरकारले उहाँहरुको राम्रो उपचार गरोस् । सरकारमा यस्तै ढुंगा हान्नेहरुका मतियार छन् । राम्रो उपचार नहुन सक्छ । आवश्यक परेका ठाउँमा लगेर राम्रो उपचार हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सरकारले राम्रो उपचार गर्दैन भने नेकपा (एमाले)ले राम्रो उपचार गर्छ । उहाँले आफूलाई इलाम नजान समेत धम्की आएको भन्दै हिम्मत भए सामुन्ने पर्न चेतावनी दिनुभयो । ओलीको इलामको कार्यक्रमपछि आजै पाँचथरमा बस्ने कार्यक्रम छ । पाँचथरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । उहाँ पाचथरपछि तेह्रथुम जाने कार्यक्रम छ । तेह्रथुम उहाँको जन्मभूमि पनि हो ।