रवि लामिछानेलाई प्रतिपक्षको बेञ्चमा ढिलै भएपनि स्वागत छः योगेश भट्टराई
काठमाडौं, १५ वैशाख । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले सरकार बनाउने–गिराउने खेलमा नरहेको प्रष्ट पार्नुभएको छ । आज एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । ‘सरकार बनाउने– गिराउने चक्करमा एमाले छैन,’ उहाँले सञ्चारकर्मीहरुको जिज्ञासामा प्रतिक्रिया दिदैँ भन्नुभयो, ‘रवि लामिछानेजीले के निर्णय गर्नुहुन्छ । त्यो उहाँले गर्ने निर्णय हो । सरकार छाड्नु भएछ भने प्रतिपक्षी बेञ्चमा स्वागत छ । आउनुहोस्, बसौँ ।’
उहाँले २०७९ पुस १० गते लामिछाने र एमाले सँगै बसेर सहमति गरेको स्मरण गराउनुभयो । ‘त्यो सहमति प्रचण्डले उल्लङ्घन गर्नुभयो । हामीले छाड्यौँ उहाँ किन बसिराक्नुभयो ? यो प्रश्न उहाँलाई नै जान्छ,’ भट्टराईले भन्नुभयो, ‘पुस १० को सहमति प्रचण्डले तोड्दा हामीले छाड्यौँ । उहाँ किन बसिराख्नुभयो ? उहाँमाथि पनि प्रश्न छ नि ? उहाँले महशुस गरेर एमालेले फिर्ता लिएकै बेला फिर्ता गर्नुपर्ने थियो । आज ढिलै भए पनि फिर्ता लिन खोज्दै हुनुहुन्छ भने स्वागत छ । प्रतिपक्ष बलियो चाहिएको छ । उहाँ पनि थपिनुभयो भने हामी अझै बलियो हुन्छौँ । ’