हरिबोधिनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
हरिबोधिनी एकादशी
काठमाडौँ, मङ्सिर ४ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुने धार्मिक विश्वासअनुसार भक्तजनले आज बिहानैदेखि मन्दिरमा पूजाआजा तथा दर्शन गरिरहेका छन् ।
काठमाडौँ उपत्यकाका चार नारायणका रूपमा परिचित चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा दर्शनार्थीको लाम लागेको छ । चार नारायणको एकैदिन दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण विभिन्न स्थानबाट भक्तजन सवारीसाधन रिजर्भ गरेर दर्शनका लागि पुगेका छन् ।
चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनले उत्तरी काठमाडौँस्थित बूढानीलकण्ठ नारायणस्थानमा दर्शन गरे पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ । एउटै विशाल ढुङ्गामा भगवान् विष्णु र शिवको स्वरूप समेटिएको बूढानीलकण्ठको मूर्ति दर्शनका लागि रातिदेखि नै भक्तजनको आगमन सुरु भएको थियो ।
बूढानीलकण्ठ नारायणस्थानका महन्त निगमानन्द स्वामीका अनुसार भक्तजनको आगमन बढेपछि दशनामी मठले राति १ः३० बजेदेखि नै मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो । बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा तथा दर्शन गरिसकेका थिए ।
मन्दिरमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको मठले जनाएको छ । विशेष पूजाका लागि बिहान १ः३० बजेदेखि सवा ८ बजेसम्म मन्दिर दर्शनार्थीका लागि बन्द गर्ने कार्यक्रम रहेको छ ।
हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म बूढानीलकण्ठ क्षेत्रमा विशेष मेला लाग्नेछ । जलकुण्डमाथि भगवान् नारायण शयन गरिरहेको अवस्थामा रहेको यहाँको मूर्ति धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्रसमेत बनेको छ । मेलाका अवसरमा मठले मङ्सिर २ गतेदेखि श्रीमद्भागवत कथा वाचनसहित महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरिरहेको छ । उक्त महोत्सव मङ्सिर ८ गतेसम्म चल्नेछ ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रको चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका दरबार क्षेत्र तथा पशुपति क्षेत्रका नारायण मन्दिरमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । गोकर्णेश्वर नगरपालिकास्थित नारायणटारलगायत उपत्यकाका अन्य मन्दिर तथा उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजन पुगेका छन् ।
