संखुवासभा हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयाे
काठमाडौं, २२ वैशाख । संखुवासभामा भएकाे हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइएकाे छ । गम्भीर घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
प्रहरीका अनुसार हेलिकप्टर दुर्घटनामा ५ जना घाइते भएका थिए । घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।
पौडेलसहित गम्भीर घाइते दुईजनालाई नेपाली सेनाले सिम्रिक एयरको हेलिकोप्टरद्वारा काठमाडौं ल्याएका हुन् । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको थियाे ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
