मुगु हिमपहिरोमा जुम्लाका तीन जनाको मृत्यु
जुम्ला, २४ वैशाख । मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु भएकाे छ ।
हिमपहिराेमा परेर जुम्लाको पातारासी गाउँपालिकाका –२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको हाे ।
यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।