विज्ञापनमा एकद्वार नीतिका कारण नेपाल विज्ञापन संघ(आन) आन्दाेलित
काठमाडाैं, २७ वैशाख । नेपाल सरकारद्वारा न्यूनतम साझा कार्यक्रम अन्तर्गत विज्ञापनमा एकद्वार नीति लागु भएपछि नेपाल विज्ञापन संघ (आन) आन्दाेलित बनेका छन् ।
आनले एक सूचना प्रकाशित गरी देशभरका विज्ञापन व्यवसायीहरुलाई आह्वान गर्दै राेयल बैंकेट तिनकुने बाट बिराेध जुलुस निकालेकाे हाे ।
आनले कालाे प्ले कार्डमा एकद्वार र समानुपातिक नीति खारेज गर, बिज्ञापन आचारसंहिता लागु गर, बिज्ञापनमा पार्दशिता लागु गर जस्ता नारा लेखेर प्रदर्शन गरेकाे छ ।
आनले सूचनामा भनेकाे छ । देशमा औद्योगिक एवं व्यवसायिक वातावरणको अभावमा अर्थतन्त्रमा देखिएको निराशाजनक परिवेशमा सरकारले उद्योगी तथा व्यवसायीहरुलाई ढाडस दिनुपर्ने अवस्थामा सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा जनताको चुलो चौकासँग गासिएका ठूला र गम्भिर समस्यामा प्रवेश नगरी सतही रुपमा विना कुनै अध्ययन परामर्श विज्ञापन क्षेत्रलाई देशको आर्थिक अवस्था बिग्रनुको कारक तत्वको उपमा दिँदै समग्र विज्ञापन उद्योगलाई असर पर्ने गरि विगतको शाही शासनकालमा जस्तै विज्ञापनमा एकद्वार नीति लगाउने विषयमा नेपाल विज्ञापन संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
सरकारको मुख्य दायित्व भनेको ऐन, कानुन बनाउनु हो । विज्ञापन विधा आफैमा विशुद्ध प्राविधिक र स्वतन्त्र विधा हो भन्ने कुरा सरकारले बुझ्नुपर्ने हो । सार्वजनिक खरिद ऐन र संघीय गणतन्त्र नेपालको संविधानलाई उपेक्षा गर्दै कुनै व्यक्ति र संस्थालाई हित हुने गरी ल्याइने विज्ञापनमा एकद्वार नीतिप्रति नेपाल विज्ञापन संघको गम्भिर आपत्ती छ ।
खुला अर्थतन्त्र र जनताको मौलिक हकलाई चुनौति दिँदै विज्ञापन व्यवसायीहरुको एकमात्र छाता संगठन नेपाल विज्ञापन संघसँग कुनै राय सल्लाह नगरी एकलौटी रुपमा गरिने निर्णयलाई हामी कानूनी रुपमा चुनौती दिने छौं ।