राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

चितवन, २८ वैशाख । राप्ती नदी किनारबाट चितवन राष्ट्रिय निकुञ्जले गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ ।

बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो। गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो ।

गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।

प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । गत वर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन् ।

मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा सङ्कलन गरिएको बताउनुभयो । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ ।

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही नदीमा छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ ।