आन्दोलनले ईपीएसको समस्या समाधान हुँदैन : कोरिया शाखा
काठमाडौं, १३ कात्तिक । नेपालस्थित ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा रोजगारीका लागि छनोट प्रक्रिया स्वचालित प्रणालीबाट हुने स्पष्ट पार्दै आन्दोलनले समस्या समाधान नहुने जनाएको छ।
पुराना पास भएकाहरूले गत कात्तिक ९ गते ध्यानाकर्षण पत्र बुझाएपछि शाखाले उत्पादनमूलक क्षेत्रको चौथो चरणको छनोट, नयाँ पास भएकाको रोस्टर प्रवेश र पुराना पास भएकालाई प्राथमिकता दिने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।
शाखाका अनुसार सन् २००८ देखि २०२६ सेप्टेम्बर २६ सम्म ईपीएसमार्फत १ लाख ५ हजार ५३० जना नेपाली दक्षिण कोरिया पुगेका छन्। यस अवधिमा भाषा तथा परीक्षा उत्तीर्ण गर्नेको संख्या १ लाख ३६ हजार ६६३ र ‘जब एप्लिकेसन’ फारम भर्नेको संख्या १ लाख २८ हजार ५५८ रहेको छ। फारम भरेकामध्ये ८२.०८ प्रतिशत कोरिया पुगिसकेको शाखाले जनाएको छ। यसबाहेक २१ हजार २२३ जना कमिटेड वर्कर्सका रूपमा कोरिया गएका छन्।
पुराना पासरहरूले मंसिर १ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्नुपर्ने, पुरानालाई प्राथमिकता दिने लिखित प्रतिबद्धता जनाउनुपर्ने र रोस्टरमा प्रवेश गरेको आधारमा प्राथमिकता दिनुपर्ने माग राखेका छन्। पुराना पासर रहँदारहँदै नयाँलाई रोस्टरमा प्रवेश गराइनुको कारणसमेत स्पष्ट पार्न उनीहरूले माग गरेका छन्।
शाखाका अनुसार भाषा तथा सीप परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जान पाइने ग्यारेन्टी हुँदैन। रोजगारदाताको माग, उमेर, सीप, योग्यता र कामको अनुभवका आधारमा उम्मेदवारको विवरण स्वचालित प्रणालीमार्फत छनोटका लागि पठाइन्छ।
ध्यानाकर्षण पत्रबारे एचआरडी कोरियाका प्रतिनिधिसँग छलफल गरिएको शाखाले जनाएको छ। कोरियन पक्षले नयाँ र पुराना पासरबीच विभेद नगरिने तथा रोजगारदाताले माग गरेको मापदण्ड पूरा गर्ने उम्मेदवारको विवरण केन्द्रीय डेटाबेसबाट स्वचालित रूपमा पठाइने स्पष्ट पारेको शाखाको भनाइ छ।
त्यस्तै, प्रतिबद्धताविपरीत कानुनले निषेध गरेका गतिविधिमा संलग्न भएको पुष्टि भएमा रोस्टरमा रोक लाग्न सक्ने, छनोट भइसके पनि भिसा स्वीकृतिका लागि आवश्यक सीसीभीआई जारी नहुन सक्ने र आगामी परीक्षामा सहभागी हुनसमेत रोक लाग्न सक्ने शाखाले चेतावनी दिएको छ।
