जेठ २६ गते रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को टेलर सार्वजनिक

काठमाडाैं, २९ वैशाख । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ ।

विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन् । युट्युबमार्फत आज सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडाैं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष देखाइएकाे छ ।

पटकथा लेखकसमेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनहरुलाई फिल्म ‘नीरफूल’ मार्फत जोड्ने प्रयास गर्न खोजेको बताउनुभयो । “भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुनर्निर्माण अझै बाँकी छ”, उहाँले भन्नुभयो “नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।”

अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरू फिल्मको व्यस्तताका बीच पनि ‘नीरफूल’लाई समय निकालेर रुबी भ्याली पुगेको बताउनुभयो । “अन्य फिल्ममा भन्दा निकै फरक भूमिका यो फिल्ममा गरेको छु”, उहाँले भन्नभुयो ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिच्नुभएको छ भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्ड्शिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *