‘स्तन क्यान्सरको पहिलो डाक्टर महिला आफै’

काठमाडौं, १ जेठ । अहिले संसारभरि नै महिलाको स्तन क्यान्सरसम्बन्धी रोग बढ्दै गइरहेका कारण सबैजना सचेत हुनुपर्ने र यो रोगबाट बच्न स्तन क्यान्सरको पहिलो डाक्टर स्वयम् महिला नै हुने बताइएको छ ।

क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले स्तन क्यान्सरबाट बच्न महिलाहरूले हरेक महिना स्वयम् आफैले आफ्नो स्तन जाँच गरी कुनै गिर्खा लगायतका लक्षणहरू आएका छन् कि भनी सचेत हुनुपर्ने बताउनुभएको छ । अस्वस्थकर खानपिन, धुम्रपान, मदिरापान, ब्यायामको कमी आदि जस्ता कारणले गर्दा अहिले विश्वभरि नै क्यान्सर रोगीहरूको संख्या बढ्दै आइरहेकोले राज्यले पनि यस तर्फ ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

त्यस्तै रक्षा क्यान्सर केयर सोसाइटीका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले पाठेघरको मुखमा हुने क्यान्सर रोग पनि अहिले बढिरहेको बताउँदै महिलाहरुको योनीबाट सेतो पानी बग्नु, यौन सम्पर्क पछि योनीबाट रगत जानु, महिनावारी नभएको बेला पनि रगत बग्नु जस्ता लक्षणहरू प्रति आफै सचेत भई तत्काल चिकित्सकको सल्लाह लिन सुझाव दिनुभएको छ ।

भक्तपुर थिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवसको अवसरमा आयोजित स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उहाँहरूले सो कुरा बताउनुभएको हो ।

अहिले क्यान्सर रोगका कारण विरामी मात्र नभई पूरा परिवारले नै पारिवारिक, सामाजिक, आर्थिक समस्याहरू झेल्नु परिरहेको बताउँदै समयमै सचेत हुन सके यस्ता समस्याहरूबाट मुक्त हुन सकिने पनि उहाँहरूले बताउनुभयो ।

बाबा साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला उपसमितिका संयोजक सुवर्णलक्ष्मी जोशी, संचालक तुल्सीमैंया श्रेष्ठ, सोसाइटीका उपाध्यक्ष लक्ष्मीकेशरी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो । यसै अवसरमा थिमि, शंखधर चोकमा खुल्ला रक्तदान कार्यक्रम पनि गरिएको थियो जसमा महिला १५ र पुरुष २९ जना गरी जम्मा ४४ जनाले रक्तदान गरेका थिए ।