नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण: सक्कली शरणार्थीलाई असर

काठमाडाैं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणले सक्कली भुटानी शरणार्थीलाई गम्भिर असर पुर्याएकाे भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले जनाएकाे छ ।

समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणले सक्कली भुटानी शरणार्थीलाई गम्भीर असर पुर्याएको बताउनुभएकाे हाे ।

राईले वर्षाैदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएकाले  निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

“यस्तो कार्यले गैर भुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैर भुटानी बनाउनसक्ने गम्भीर आशङ्का पैदा गरेको छ । गैर भुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केही नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वगृहमन्त्रीसमेत गिरफ्तार भइसकेको घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानी अत्यन्तै दुःखित भएका छौँ ।”

स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब छ हजार पाँच सयको हाराहारीमा रहेका भुटानी शरणार्थी र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यान दिनसमेत समितिले माग गरेको छ ।

शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र वितरणमा ढिलासुस्ती हुँदा सक्कली भुटानी परिचयविहीन हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।