रातो मत्स्यन्द्रनाथको भोटो जात्रा आज

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज मनाइदै छ ।

हरेक वर्ष जात्राकाे अन्तिम दिन रातो मत्स्यन्द्रनाथको भोटो देखाएर जात्राकाे समापन गरिन्छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति पत्ता नलागेपनि मत्स्यन्द्रनाथको जात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो मानिन्छ ।

किम्वदन्तीअनुसार मत्स्यन्द्रनाथकाे जात्रा सुरु भएपछि नागराजा कर्कोटककी रानीको आँखा दुखेर आयाे । कर्कोटकले रानीको आँखा उपचारका लागि वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् किर्तिपुरकाे टौदह लगे ।

किसान एकदमै डराएर मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो ।

नागराजा कर्कोटकले किसानलाई पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो दिएर मनुष्यलोकमा फर्काइदियाे । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो चाेरेर लग्यो । किसानले खोजे । कतै पाएनन् । मत्स्यन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्यन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्यन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास रहिआएकाे छ ।