तनहुँमा छ सय ४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरु मरे
तनहुँ, १५ जेठ । अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
तनहुँमा यही जेठ १४ गतेसम्म छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उहाँले बताउनुभयो । लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन् । म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उहाँले बताउनुभयो ।
ऋषिङ गाउँपालिकामा भने कम सङ्ख्यामा पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । डा श्रेष्ठका अनुसार सङ्क्रमण भएका पशुमध्ये ४३ गाईगोरु मरेका छन् । आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दीपुरमा दुई, देवघाटमा दुई र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको सङ्क्रमणबाट मरेको उहाँले बताउनुभयो ।
“विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतता आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ ।” खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।
खोपको व्यवस्थापन गरी सङ्क्रमण भएका गाईवस्तुलाई छुट्टै स्थानमा राख्न डा श्रेष्ठले अनुरोध गर्नुभयो । “लम्पीस्किन भएका गाईवस्तुलाई आइसोलेशन गरेर उपचार गर्ने र दूध बिक्री गर्नुहुदैन, दूध तथा सङ्क्रमण भएका गाईलाई स्याहारसुसार गरी अर्कोतर्फ जाँदा मान्छेको माध्यमबाट पनि यो रोग सर्न सक्छ, त्यसले गर्दा सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।
लम्पीस्किन भाइरल रोग हो । झिँगा, लामखुट्टे, विभिन्न किराबाटको टोकाइबाट जोगाउनुपर्ने हुन्छ । यो रोगको सङ्क्रमणले पशुमा फोका निस्कने हुन्छ । यस रोगको सङ्क्रमणले पशुवस्तुलाई कमजोर बनाउने गर्दछ ।
सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ । सकेसम्म आइसोलेशन गर्ने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने विज्ञ केन्द्रले जनाएको छ ।