प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं, १८ जेठ। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

समकक्षी मोदीसंगकाे भेटवार्ता बिहान ११:०५ बजे तय भएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड बिहान साढे दश बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समकक्षी मोदीसंगकाे भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुहुनेछ । त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४:३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नुहुनेछ । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नुहुने छ।