खाेटाङकाे मनोकामना विद्यालयमा कम्प्युटर ल्याब स्थापना

खाेटाङ, १८ जेठ । खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो ।

कक्षा १२ सम्म आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराउने उद्देश्यले ईडियु टेक नेपाल फाउन्डेसन र हिमाली ट्रस्ट नेपालले कम्प्युटरका साथै विद्युतीय उपकरण उपलब्ध गराएको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभयो ।

उक्त दातृ निकायले १६ थान कम्प्युटर, त्यसका लागि आवश्यक ब्याकप, इयरफोन, विद्युतीय सामग्रीलगायत रू १८ लाख बराबरको उपकरण सहयोग गरेको उहाँले बताउनुभयो ।

“विद्यार्थीका लागि लक्षित गरेर स्थापना गरिएको कम्प्युटर ल्याब सञ्चालनका लागि दातृ निकायले सोही विद्यालयका शिक्षकलाई दुई महिने निःशुल्क तालिमसमेत दिने छन्”, वडाध्यक्ष कठेतले भन्नुभयो ।

ल्याबका लागि स्थानीय सुनिल राई, नवराज राई शशीकला राई, जयबहादुर राई तथा विसं २०६३ मा एसएलसी दिने विद्यार्थीबाट रू दुई लाख ५० हजार सङ्कलन गरी आवश्यक फर्निचर खरिद गरिएको उहाँले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कक्षा एकदेखि नै कम्प्युटर कक्षामा सहभागी गराउने गरी ल्याब स्थापना गरिएको प्रधानाध्यापक पञ्चकुमार राईले जानकारी दिनुभयो । बिहान/बेलुका समुदायमा कम्प्युटर सिक्न चाहनेका लागि र दिउँसो विद्यार्थीका लागि कम्प्युटर कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *