सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ पटक सफल कलेजो प्रत्यारोपण

भक्तपुर, १८ जेठ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।
कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्व र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित तथा अङ्गदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठले जानकारी दिनुभएको छ ।
दाङ जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उहाँकी श्रीमती ३७ वर्षीया आशा सुनारले आधा कलेजो दान गर्नुभएको थियो । कलेजो ग्रहणकर्ता र कलेजोदाता दुवै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुसी भएको बताउनुभयो । कलेजोदाताले आफूले पूर्ण स्वस्थ्य लाभ गरेपछि सम्पूर्ण अङ्ग मृत्युपश्चात् दान दिन इच्छा व्यक्त गर्नुभयो ।
कलेजो प्रत्यारोपणमा सर्जन डा रोशन घिमिरे, डा सपना बर्मा, डा ललितकुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रश्मित श्रेष्ठ र डा शिवसुन्दर संलग्न हुनुहुन्थ्यो ।
मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हालसम्म आठ जनामा जीवित दाताबाट र तीन जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । यस केन्द्रमा १० वर्षको अवधिमा एक हजार ६६ जनाको मिर्गाैला प्रत्यारोपणसमेत गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *