भोजपुरको कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षाको समस्या
भोजपुर, १९ जेठ । भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन समस्या हुने गरेको छ ।
राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै गएका हुन् ।
षडानन्द नगरपालिकाको वडा नं ६ अरुण नदी किनारमा रहेको यो बस्तीका करिब ३५ घरपरिवारलाई आधारभूत सेवा लिन नै समस्या भएकाे छ । यहाँका स्थानीयलाई शिक्षा र स्वास्थ्यको सेवा लिन अत्यन्तै समस्या छ भने कतिपय परिवारको आफ्नो जमिन छैन ।
नदी किनारको बस्ती भएकाले यहाँका परिवारले कुटो, कोदालो, माटाको भाँडा तथा अरूण नदीमा माछा मारेर जीवनयापन गर्दै आएका छन् । उनीहरूलाई बिहान बेलुकाको छाक टार्नै समस्या हुने गरेको छ । गरिबीका कारण कुमाल समुदायका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिर रहेको स्थानीय जानकारहरूको भनाइ छ ।
यहाँ जनचेतना आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन हुने भए पनि बालबालिका भने कमैमात्र विद्यालय जाने गरेका छन् । यो बस्तीमा रहेको गरिबी तथा भौगोलिक विकटताका कारण बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको दिङ्लका समाजसेवी प्रकाश पौडेलले जानकारी दिनुभयो ।
यो ठाउँका बालबालिकाले आधारभूत शिक्षा लिए पनि उच्च शिक्षा लिनका लागि झनै समस्या रहेको उहाँको भनाइ छ । त्यहाँका बालबालिकालाई सङ्खुवासभाको तुम्लिङटार जानुपर्ने बाध्यता रहेको समाजसेवी पौडेलले जानकारी दिनुभयो । सङ्खुवासभा जानलाई पनि अरुण नदीमा पुल नहुँदा सास्ती छ ।
“मोथेटारका बालबालिकालाई शिक्षाको सहज पहुँच छैन”, उहाँले भन्नुभयो, “पहिलो कुरा त यहाँ अशिक्षा र गरिबी छ । केही बालबालिका विद्यालय गए पनि उच्च शिक्षा लिन उनीहरूलाई समस्या छ । उच्च शिक्षा लिन जोखिम मोलेर सङ्खुवासभा जानुपर्ने अवस्था छ ।”
अर्थाभावको समस्यालाई झेल्दै केही बालबालिकाले प्राथामिक शिक्षा हासिल गरे पनि कक्षा ५ माथिको शिक्षा हासिल गर्न धेरै समस्या रहेको सो विद्यालयकी शिक्षिका टीका श्रेष्ठले बताउनुभयो । साना बालबालिकालाई कक्षा ३ पछिको शिक्षा लिन तीन घण्टा बढी समय लगाएर अरुण माध्यमिक विद्यालय तथा सङ्खुवासभा जिल्ला जानुपर्ने बाध्यता रहेकाले धेरै बालबालिकाले विद्यालय छाड्ने गरेको शिक्षिका श्रेष्ठले जानकारी दिनुभयो ।
राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायका बालबालिकामा शिक्षाको पहुँच विस्तार हुन नसकेको देखिन्छ । परिवारका अभिभावक नै अशिक्षित भएका कारण उनीहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नमान्ने स्थानीयवासी कृष्णबहादुर कुमालले जानकारी दिनुभयो ।
अभिभावकले बालबालिका अलिक ठूला भएपछि आफ्नै पेसामा काम गर्न लगाउने गरेका छन् । पैतीस घर कुमाल बस्तीमा करिब ७० जनाको हाराहारीमा विद्यालय समूहका बालबालिका रहे पनि दशभन्दा बढी बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेको उहाँको भनाइ छ ।
कुमाल समुदायमा शिक्षाको चेतना फैलाउँदै यहाँ सहज आधारभूत पुर्याउनका लागि पहल भइरहेको षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुमन विशुन्केले बताउनुभयो । खास गरेर स्थानीयमा रहेको अशिक्षाको कारण पनि बालबालिका शिक्षाबाट बञ्चित हुने गरेको उहाँको भनाइ छ ।
कुमाल बस्तीमा रहेको समस्या समाधानमा नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यहाँका नागरिकलाई आधारभूत आवश्यकताबाट बञ्चित हुन नदिन नगरपालिका लागिपरेको उहाँको भनाइ छ ।