कञ्चनपुरकाे शुक्लाफाँटामा खानेपानीकाे समस्या सुल्झँदै
कञ्चनपुर, २३ जेठ । शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् ।
वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताउनुभयो ।
उहाँले भन्नुभयो । वडामा नगरको गौरवको योजनाअन्तर्गत रु छ करोड आठ लाख ९८ हजार आठ सय ६९ को लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिकाका इन्जिनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र सङ्घीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ ।
खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ । आयोजना आगामी आवको असार १८ गते भित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाका लागि दुई सय २५ घनमिटरको टङ्की निर्माण गरिने निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले बताउनुभयो ।
“निर्धारित समयअगावै खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार उपभोक्ता घरसम्म पाइप जडानदेखि धाराको टुटी जडान गर्छौं ।” खानेपानी आयोजनाका लागि २७ हजार मिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ ।
खानेपानी आयोजनाका लागि बोरिङ गाडनका लागि ड्रिल गर्ने कार्य अगाडि बढाइएको छ । खानेपानी सञ्चालनका लागि डेढ तले कार्यालय भवन र पर्खाल निर्माण गरिने निर्माण व्यवसायी पन्तले बताउनुभयो । खानेपानी आयोजनाबाट लक्ष्मीपुर, ढकनियाँ र रानीपुरका गरी पाँच सय ८५ घरधुरी लाभान्वित हुने भएका छन् ।
नगर प्रमुख रणबहादुर महराले खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्नुहुँदै नगरको गौरवको योजनाअन्तर्गत खानेपानी आयोजनालाई राखिएकाले निर्धारित समयमै निर्माण पूरा गरिनुपर्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले खानेपानी आयोजना निर्माणलाई छिटोभन्दा छिटो पूरा गरी वडाका बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउन आतुर रहेको बताउनुभयो ।