बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ,२६ जेठ । बागलुङमा रहेकाे जिल्ला कारागारमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिपछि कारागारमा विभिन्न समस्या निम्तिएका छन् ।

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् ।

कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।

“पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उहाँले भन्नुभयो । उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् ।

महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताउनुभयो । तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ ।

बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ । असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताउनुभयो ।