नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ आजदेखि प्रदर्शनमा

काठमाडाैं, २६ जेठ । आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आएका छन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शनमा आएका हुन् ।

फूलमान वलले निर्देशन गर्नुभएको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताउनुभयो । उहाँका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।

त्यस्तै आजै प्रदर्शनमा आएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

समसामयिक कथामा हास्य नाटक (कमेडी) शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तु समेटिएको अभिनेता विनोद न्यौपानेले बताउनुभयो ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।