म्याग्दी नदीको पानी ‘लिफ्ट’द्वारा पोकफाँटको सिरानमा

म्याग्दी, ३० जेठ । म्याग्दी नदीकाे पानी मङ्गला गाउँपालिका–५ पोक काे फाँटमा ‘लिफ्ट’ सिँचाइद्वार पुगेकाे छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो ।

तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताउनुभयो ।“म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको छ”, उहाँले भन्नुभयो, “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ ।”

पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ । लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताउनुभयो । लिफ्ट सिँचाइबाट बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन् । हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो ।

बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन । खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ । पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ । सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ ।

लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ ।

म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो । आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी सङ्कलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।