मलेसियाबाट उडान भरेको नेपाल वायुसेवा निगमको जहाज पहिलाे पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाे पटक मलेशियाबाट उडान भरेकाे नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक जहाज मंगलबार अवतरण गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको हाे ।

मलेसियाको क्वालालम्पुरबाट आएको ९ एन ए केएक्स विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवा विमानस्थलमा स्वागत गरेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट आज बिहान आएको निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी बिमान भैरहवामा अवतरण गरेको थियो ।

मलेसियाका पर्यटन व्यवसायीहरू सहित आएको विमानलाई पर्यटन मन्त्री किराँती तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी एवं यस क्षेत्रका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । पर्यटन व्यवसायीहरू भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्र हाे । जजिरापछि हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुवै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।