गर्मी बढेपछि भोजपुरको टेम्केमैयुङस्थित महभिर झरनामा पर्यटकको घुइँचो
भोजपुर, ३२ जेठ ।देशभर तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ ।
दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन् । टेम्केमैयुङ–४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ । भिरमौरी बस्ने भएकाले यो झरनाको नाम महभिर झर्ना रहेको स्थानीयको भनाइ छ ।
झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी पर्यटक पुग्ने गरेका छन् ।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताउनुभयो ।
विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरेको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गरेको स्थानीयवासी शिवकुमार राईले बताउनुभयो ।
भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । झरना सडकबाट साढे दुई किलोमिटरभित्र रहेको छ । महभिर झरनालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्देश्यका साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।
झरना आसपासमा स–साना दह निर्माण गरेर माछापालन, उद्यान निर्माण गर्नेलगायत गाउँपालिकाको योजना छ । महभिर झर्नाका साथै चखेवाभञ्याङ, टेम्के डाँडा र मैयुङडाँडा एकै पटकमा घुम्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ ।