खडेरीले बागलुङका किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

बागलुङ ७ असार । खडेरीले बागलुङका किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल भएकाे छ ।

लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे । वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् । खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन् । असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ ।

गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उहाँको भनाइ छ ।

क्षेत्री भन्नुहुन्छ, “जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर बैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या पर्यो, बीउ जोगाउनै गाह्रो भयो ।”

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरु समस्यामा परेको बताउनुभयो । खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको गुनासो पोख्नुभयो । पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उहाँको भनाइ छ ।

अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुक्खैसुक्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसाजस्तो भन्न थाले”, जिसीले भन्नुभयो, “एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला ।

अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताउनुभयो । मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकले बताउनुभयो । घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काउन सफल भएको उहाँ बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो । बैसाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *