प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरणलगत्तै पानी चुहियो

झापा, ८ असार । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आइसियु’मा बर्खाको पानी चुहिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन कूल रु २७ करोडको लागतमा निर्माण भएको हो ।

हस्तान्तरणलगत्तै सुरु भएको बर्खाको पहिलो झरीमै भवनको सघन उपचार कक्षमा पानी चुहिएको अस्पतालका कामु मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले बताउनुभयो ।

अस्पतालका तर्फबाट कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा खड्का र अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले संयुक्त विज्ञप्ति जारी गर्दै सघन उपचार कक्षमा पानी चुहिएको र भवनको निर्माणमा थुप्रै प्राविधिक त्रुटि भेटिएको जानकारी गराउनुभयो ।

“असारको पहिलो हप्ता परेको अविरल वर्षाका कारण भवनबाट पानी रसाएर चुहिएर सघन उपचार कक्षमै पानी पसेको, छतको फाइबर कमसल देखिएको, तीन वटा सेक्सनको छानाको जडानमा पानी चुहिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “भवन निर्माण क्रममा देखिएका त्रुटि र प्राविधिकको संलग्नता सम्बन्धमा छानबिन गरी किन र कसरी यस्तो परिस्थिति सिर्जना भयो ? अविलम्ब जाँच गर्न नेपाल सरकारको सहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।”

हस्तान्तरणपछि भवन उद्घाटन गर्ने तयारी भए पनि प्राविधिक त्रुटिको निवारण नभएसम्म सेवा सञ्चालन गर्न नसकिने अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

भवनको निर्माणको प्रत्यक्ष रेखदेख र गुणस्तर निगरानीको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले लिएको थियो । आयोजना प्रमुख ई रुपक आचार्यले अस्पतालको भवनमा प्राविधिक त्रुटि भेटिएको स्वीकार गर्दै त्यसको निवारणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गुनासो आएलगत्तै भवनको अनुगमन गर्दा आइसियु ब्लक र अर्को एउटा ब्लकमासमेत पानी रसाएर चुहिएको पाइएको छ । पानी चुहिएको ब्लक निर्माण दुई वर्षअघि नै सकिएको र विगतका दुई बर्खामा त्यहाँबाट पानी नचुहिएको समेत उहाँले दाबी गर्नुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका तर्फबाट निर्माण कम्पनीलाई प्राविधिक त्रुटि भेटिएकाबारे लिखित प्रष्टीकरण सोध्ने कार्य भइसकेको भुक्तानी रोक्ने निर्णय गरिएको आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो ।

भवनको केही झ्याल ढोका कमजोर देखिएको, जालीखापा उप्किएको, शौचालयका धारा र सेपरेटर हल्लिएको पाइएको छ । उहाँले भन्नुभयो, “भवनको आयु अवधिभरि कुनै समस्या नआउने ग्यारेन्टी चाहियो भनेर पत्र लेखेका छौँ । अब त्रुटि नआउने गरी मर्मतसम्भार कसरी गर्नुहुन्छ भने सोधेका छौँ ।”

निर्माणका कम्पनीले भवन निर्माणको ठेक्का बमोजिमको भुक्तानी भने लगिसकेको छ । कम्पनीले धरौटीबापत राखेको रु डेढ करोड र ‘पर्फर्मेन्स बन्ड’बापत जम्मा गरेको रु डेढ करोड गरी कूल रु तीन करोड रकम आयोजनाको बैंक खातामा रहेको छ । आयोजनाले सो रकमको भुक्तानी रोक्काका लागि बैंकसँग पत्राचार गरिसकेको छ ।