अविरल वर्षापछि पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ, १० असार । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो ।
शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन् ।
सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिनुभयो ।
बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पदैलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
यस ठाउँ वर्षात्का समयमा सधैँ पहिरो जाने हुँदा स्थायी विकल्प खोज्नुपर्ने कायतले बताउनुभयो ।