प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा काठमाडौँ पर्नु चिन्ताको विषयः ओली
काठमाडौं, १२ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा काठमाडौं पर्नु चिन्ताको विषय भएको भन्दै ओलीले प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन आग्रह गर्नुभएको छ ।
‘हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्टाटिस्टिक्स’ भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए,’ ओलीले आफ्नो पेजमा लेख्नुभएको छ, ‘त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो। ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो। तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ ।’
उहाँले काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ होला भन्दै थप लेख्नु भएको छ । ‘यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं । हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ–आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं । प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔं।’