चाँदी नदीमा पुन: सुरूभयाे पुल निर्माणको काम

रौतहट, १३ असार । वर्षाैंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको काम पुन: सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने काम फेरी सुरुआत गरिएको हो ।

पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएपछि त्यसयता ठेकेदारले काम गर्न सुरु गरेको हो । हाल पुल बनाउने कार्यमा दुई स्थानबाट स्परसँग बालुवा भरेर जोड्ने काम भएको स्थानीय अगुवा गोविन्द तिमलसिनाले बताउनुभयो ।

सो पुलको काम आगामी पुस र माघभित्र सम्पन्न हुने आश्वासन ठेकेदारबाट पाएको तिमलसिनाले जनाउनुभयो । साइट इन्जिनियर मदनमोहन सिंहले हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भएको बताउनुभयो ।

उहाँले अनुसार पुलसँग जोडिने सडक निर्माणको काम भइरहेको जनाउँदै चाँडोभन्दा चाँडो पुल बनाउन ठेकेदार र कम्पनीलाई दबाब दिइएको बताउनुभयो ।

रौतहटको चन्द्रपुर नगरपालिका–३ गैँडाटारस्थित चाँदी नदीमा निर्माण गर्न थालिएको सो पुल निर्माण कम्पनीका लापरबाहीका कारण लामो समयसम्म पुल अलपत्र अवस्थामा रहँदै आएको थियो ।