चलचित्र ‘परस्त्री’ आजदेखि प्रदर्शनमा
काठमाडाैं, १४ असार । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ आजदेखि प्रदर्शनमा आएको छ ।
प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिनुभयो ।
“हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ”, उहाँले भन्नुभयो ।
चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिनुभयो ।
चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गर्नुभएको छ । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गर्नुभएको हो ।
बुधबार साँझ काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । सो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो ।