बागलुङकाे काठेखोलामा ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम

बागलुङ , १४ असार । बागलुङको काठेखोला गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको अवधारणालाई सार्थक रूप दिनका लागि ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम ल्याएको हो ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने अवधारणालाई पुष्टि गर्नका लागि जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन/अध्यापन गराउने नीति अवलम्बन गरिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । यो नीतिले सामुदायिक विद्यालयको सेवाप्रवाह थप व्यवस्थित र प्रभावकारी हुने उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारी सुविधा उपभोग गर्ने जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरीले सामुदायिक विद्यालयमा अनिवार्य पठनपाठन गराउन भनिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र शिक्षालाई प्रविधिमैत्री बनाउने योजना बनाएको गाउँपालिकाले पहिले नैतिकता प्रदर्शन गरेर सामुदायिक विद्यालयमा अध्ययन गराउन लगाउने सामाजिक विकास समितिका संयोजक खडक थापाले बताउनुभयो ।

उहाँले उक्त कार्यक्रम प्रभावकारी कायान्वयन नभएको पाइएमा नीति नै बनाएर कडाइका साथ कार्यान्वयनमा ल्याइने बताउनुभयो । “उक्त नीति कार्यान्वयन नगर्ने तर सरकारी सुविधा उपभोग गर्ने जोकेहीलाई पनि कारवाही गरिनेछ”, संयोजक थापाले भन्नुभयो ।

समग्र गाउँपालिकाको शिक्षा विकासका लागि ‘काठेखोलावासीको इच्छा, गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा’ भन्ने नारा तय गर्दै समग्र पालिकाको शिक्षा सुधारका योजना तयार गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *