रुपन्देहीको गैडहवा गाउँपालिकाका भूमिहीनलाई लालपुर्जा वितरण

रुपन्देही, १५ असार । रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गर्नुभयो । त्यस अवसरमा मन्त्री श्रेष्ठले सरकारले नापजाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौँदेखि जोतभोग गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरणकार्य प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सामाजिक तथा आर्थिकरूपमा पिछडिएका भूमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भूमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको भूमिमा समान अधिकार स्थापित गर्ने बताउनुभयो ।

रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोबासीको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताउनुभयो । उहाँले भूमिहीनबाट सरकारले लिने राजस्व चर्को भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौँदेखि जमिनको भोगचलन गर्दै आएकाहरू पुर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफूहरूले पहल गरेको बताउनुभयो । भोगचलन गरेको ६३ वर्षपछि लालपुर्जा पाउँदा स्थानीय निकै खुशी भएका छन् ।

यस्तै गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नं ८ बाट पुनः नापजाँच सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *