तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

तनहुँ, १८ असार । तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएकाे छ ।

आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार देउवाको ध्यानाकर्षण गराउनुभएकाे हो ।
सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो ।

सभापति देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्ने जानकारी दिनुभएको वडाध्यक्ष केसीले बताउनुभयो ।

ऑबुखैरेनी गाउँपालिकाले आगामी आव २०८०÷८१ मा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाएको छ । यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममै यसलाई उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

हाल तनहुँ दमौली अस्पतालमा मात्रै डायलासिस उपकरण सञ्चालनमा छ । मिर्गौला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ ।