स्वयम्भू महाचैत्यको गजुर मान्द्रोले छोपियो

काठमाडौं, १८ असार । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको त्रियोदश भुवनलाई आजदेखि मान्द्रोले छोपिएको छ । सुनले लेपित महाचैत्यको त्रियोदश भुवनलाई घाम र पानीबाट बचाउन हरेक वर्ष यसरी मान्द्रोले बेरेर छोप्ने परम्परा रहँदै आएको छ ।

जेठ–असार कडा घाम लाग्नुका साथै सधैँभरि वर्षा भइरहने समय हो । यस्तो बेला गजुरको मुनितिर रहने त्रियोदश भुवनमा गरिएको स्वर्ण लेपनमा कुनै क्षति नहोस् भनी मान्द्रो बेरेर सुरक्षित बनाउने गरिन्छ । यो कार्य काठमाडौंको जैसी देवलस्थित तुकं बहालका स्थानीय ज्यापु समुदायले गर्ने गर्दछ । यही समुदायले सेतो मत्स्येन्द्रनाथको जात्रामा रथ बनाउने कार्य पनि गर्दछ ।

पहिले पहिले हरेक वर्ष जेठ महिनाको भलभल अष्टमीका दिनदेखि आज गुरु पूर्णिमाको दिनसम्म महाचैत्यमा चढेर यसरी मान्द्रो बेर्ने कार्य गरिन्थ्यो । अहिले भने गुरु पूर्णिमाका एक दिन मात्रै गर्ने गरिएको छ । यो कार्यलाई स्थानीय नेपालभाषामा ‘पुलुं भुनेगु’ भनिन्छ ।

आज राखिएको यो मान्द्रो दशैंको कूछिभ्वय् अर्थात महाअष्टमीका दिन निकाल्ने गरिन्छ । त्रियोदश भूवनमा राखिएको स्वर्ण लेपन क्षति होला भनी दाताहरूले नै यसरी मान्द्रो बेर्ने परम्परा बसाएको मानिन्छ ।

स्वयम्भू महाचैत्यमा जस्तै आजैका दिन सीघः विहारको चैत्य, तुकं बहालको चैत्य र यट्खा बहालको चैत्यमा पनि यसरी नै मान्द्रो बेर्ने परम्परा रहेको छ ।

बौद्ध दर्शनमा आफू बसिरहेको मत्र्यलोकभन्दा बाहिर अरु १३ वटा लोक रहेको विश्वास गरिन्छ । यही १३ वटा लोकको प्रतीक स्वरुप वज्रयानी चैत्यको हर्मिकामा १३ वटा चक्का राखिएको हुन्छ । यही १३ वटा चक्कालाई त्रियोदश भुवन भनिन्छ ।

यसै बीच गत फागुन महिनामा आएको हुरी बतासले क्षतिग्रस्त हुन पुगेको स्वयम्भू महाचैत्यको गजुरको पनि जीर्णोद्धार शुरु भएको छ । पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा गजुरको जीर्णोद्धार गरिएको हो । यसको लागि केही समय अघि फलामको फ्रेम बनाई गजुरलाई घेरिएको थियो ।

बाँदरले हल्लाएर क्षतिग्रस्त भएको गजुर फागुनको हुरी बतासले ढलेको थियो । जीर्णोद्धार सकिएपछि महाचैत्यमा एक क्षमापूजा गरिने जानकारी संरक्षण महासमितिले दिएको छ ।