कालीकोटको तिलागुफा नगरपालिकाका विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु

कालीकोट, २१ असार । कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् ।

सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको हाे ।

विद्यालयका प्रधानाध्यापक भद्रबहादुर सिंहका अनुसार हाल विद्यालय विद्यालय बन्द गरिएकाे छ । उहाँले भन्नुभयाे, “हामीले जिल्ला अस्पताल कालीकोट र नगर अस्पताललाई पनि खबर गरेका छौँ”, दुई जना विद्यार्थीको स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र एक जना विद्यार्थीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालयमा कक्षा ११ सम्म पढाइ हुने गरेको र तीन सय २७ विद्यार्थी अध्ययन गरिरहेकामा तीमध्ये एक सय ३० विद्यार्थी बिरामी रहेको सहप्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “केही समयदेखि विद्यार्थीमा अनुहार सुनिने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ”, धेरै विद्यार्थी बिरामी भएकाले महामारीको रूप हुनसक्छ भनेर अहिले विद्यालय बन्द गर्ने कि के गर्ने भन्नेमा छौँ ।

विद्यालयमा देखिएको अज्ञात रोगका विषयमा गम्भीररूपमा लिँदै नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोलीलाई विद्यालयमा जान भनेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिनुभयो ।

अज्ञात रोग फैलिएको आज भर्खरमात्र थाहा भयो उहाँले भन्नुभयो, “अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा पठाएका छौँ ।”