रसुवामा डेङ्गुको बिरामी फेला
रसुवा, २५ असार । रसुवाको उत्तरी भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ ।
ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिनुभयो ।
समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्छ भन्नुभयो ।
उहाँले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गर्नुभयो ।