काभ्रेपलाञ्चोकका तीन हजार सात सय घर उच्च जोखिममा

काभ्रेपलाञ्चोक, २८ असार । ‘मनसुनजन्य विपद्’का कारण यसवर्ष काभ्रेपलाञ्चोकका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिकाे अनुगमन तथा निरीक्षणको तथ्याङ्क अनुसार सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको पाइएकाे छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइएकाे छ ।

सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् ।

प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय २०, बनेपामा दुई सय ५९, पनौतीमा दुई सय छ, पाँचखालमा एक सय ५८, नमोबुद्धमा दुई सय ५० घर प्राकृतिक प्रकोप बाढी–पहिरोको उच्च जोखिममा रहेका हुन् । यस्तै खानीखोला गाउँपालिकाको दुई सय २२, रोशीका तीन सय ४५, तेमालका तीन सय आठ, चौंरीदेउरालीका दुई सात, भुम्लुका तीन सय नौ र महाभारत गाउँपालिकाको दुई सय २० घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको पाइएको छ ।

मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन जिल्लास्थित स्थानीय तहलाई निर्देशन दिइएको छ । समितिले बाढी, डुबान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको छ ।

साथै, अत्यावश्यक आवयश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्ने गरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पोडेलले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा सामुदायिक विपद् प्रतिकार्यका लागि थप जनशक्ति तयार पार्न तालिम प्रदान गरिने छ ।

गत जेठमा जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गणले चार दिने तालिममार्फत सामुदायिक विपद् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ ।

तालिममा “विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामग्री, सीप तथा कला, बाढी,–पहिरो, डुबान, आगलागीजस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताउनुभयो ।

काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *