तनहुँका किसान पशुपालनबाट आत्मनिर्भर
तनहुँ, २८ असार । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँका किसान दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।
जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ । उहाँका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ ।
त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।
दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो ।
केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् ।