रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ सम्पन्न
रुपन्देही, २८ असार । रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ ।
जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्षसम्म यो समयमा जम्मा ४२ प्रतिशत जमिनमा धान रोपाइँ भएकामा अहिले ५७ प्रतिशत भएको उक्त केन्द्रका सूचना अधिकारी अनिल बानियाँले बताउनुभयो ।
गतवर्षभन्दा अहिले असार १५ मै पानी परेका कारण रोपाइँ तुलनात्मकरूपमा धेरै भएको उहाँको भनाइ थियो । जिल्लाभार सिँचाइ सुविधा ७० प्रतिशत जमिनमा पुगेको देखिए पनि यहाँको पुराना सिँचाइ आयोजना र कुला मर्मत नहुँदा कागजमा मात्र सीमित देखिन्छ ।
तोकिएजति सिँचाई नहुनुमा भौलाभुजा सिँचाइ आयोजना, छत्तिस कुलोलगायत धेरै पुराना सिँचाइ आयोजना र कुलो मर्मत नहुँदा क्षमताअनुसारको सिँचाइ पुर्याउन समस्या भएको हो ।
तिलोत्तमा नगरपालिका– १० कान्छी बजारका किसान रामबहादुर थापाले सिँचाइ नहुँदा समयमा रोपाइँ गर्न नसकिएको बताउनुभयो ।
उहाँले बोरिङको पानीबाट धान रोपाइँ गर्दा लागत धेरै लाग्ने भएकाले आकासे पानी नै कुर्नु परेको गुनासो गर्नुभयो ।
जिल्लाका पुराना सिँचाइ र कुलो मर्मतका लागि समयमै ध्यान दिनुपर्ने र त्यसका लागि सबैले पहल गनुपर्ने जिल्ला कृषि ज्ञान केन्द्रमा प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।